फेसबुकबाट ठगीः नक्कली पाइलटको प्रेममा ५० लाख चट्,, ठगीको शिकार हुनेमा बढी महिला

रमेश धमला

२ चैत, काठमाडौ । फेसबुकमार्फत ठगिएको विषयमा एकपछि अर्को उजुरी प्रहरीमा आउन थालेका छन् । ठगिनेमा महिलाहरुको संख्या धेरै छ ।

सामान्य पृष्ठभूमिका महिलादेखि सम्भ्रान्त वर्गका सम्म फेसबुके ठगीको शिकार बनिरहेको पाइएको छ । पछिल्लो समय प्रहरीले अनुसन्धान गरेका घटनाहरु यस्ता छन् ।


‘पाइलट’ को प्रेममा ५० लाख चेट

महानगरीय प्रहरी अपराध महाशाखामा मंगलबार ४० वर्ष नाघेकी एक महिला डराउँदै-डराउँदै उजुरी लेखाइरहेकी थिइन् । घरानिया परिवारकी उनलाई कसैले देख्ला कि भन्ने डर थियो । यो घटनाको विषयमा चिनेजानेका कसैले सुईंको पाए भने उनको परिवार तहसनहस हुनसक्थ्यो ।

यी महिला फेसबुकमार्फत एक ठगको फन्दामा परेकी रहिछन् । करिब १ वर्षअघि आफूलाई म्याक्स भन्ने व्यक्तिसँग उनको फेसबुकमा चिनजान भएको थियो ।

सुरुमा सामान्य कुराकानी भयो । तर बिस्तारै उनले म्याक्सको गफमा आफूलाई भुलाउन थालिन् ।

फेसबुकमा चट्ट परेको प्रोफाइल पिक्चर हालेका म्याक्सले आफूलाई एयर अरेबियाको पाइलट भनेर चिनाएका थिए । त्यो पनि स्वीटजरल्याण्डमा बस्ने । यी महिला चाँडै नै म्याक्सको मायाजालमा फसिन् । यतिसम्म कि उनीहरुबीच विवाह गर्नेसम्मको कुरो भएको थियो ।

आपसी विश्वास चुलिँदै गएपछि म्याक्स आफ्नो इरादा पुरा गर्नतर्फ लागे । उनले आफ्नो एटिएम हराएको र निकाल्न केही दिन लाग्ने भन्दै महिलासँग दुई लाख रुपैंया मागे । महिलालाई दुई लाख रुपैयाँ ठूलो कुरा थिएन । कुनै आशंका नगरी उनले ‘स्वीजरल्याण्डबाट’ म्याक्सले दिएको नेपाली एकाउन्टमै २ लाख रुपैंया जम्मा गरिदिइन ।

त्यसपछि अनेक बहाना गर्दै म्याक्सले पैसा माग्दै गए, महिलाले बुझाउँदै गइन् । प्रहरीका अनुसार महिलाले एक पटकमा १० लाखसम्म बुझाएको बताएकी छिन् । कहिल्यै नभेटेका पुरुषको खातामा आफूले कुल मिलाएर ५० लाख रुपैयाँ बुझाएको उनको भनाई छ ।

तर उनले यति विश्वास गरेका व्यक्ति न स्वीट्जरल्यान्डमा थिए न त पाइलट नै थिए । उनी थिए एक ठग जसले फेसबुकमार्फत ठगी धन्दा चलाउँदै आएका थिए ।

५० लाख बुझाएपछि महिला सिताङ्ग भएर प्रहरीमा पुगेकी हुन् । उनलाई अझै पनि विश्वास लागिरहेको छैन आफू ठगिएकोमा । तर उनले उनले जसको एकाउन्टमा पैसा हाल्ने गरेकी थिइन् ती व्यक्ति प्रहरी हिरासतमा आइसकेका छन् ।

उपहारका नाममा ठगी

Loading...
सामान्य लेखपढ गर्न जान्ने एक युवती प्रहरीको शरणमा आएकी छिन् । उनको पनि फेसबुकबाट ठगिएको गुनासो छ ।

पढाई खासै नभए पनि फेसबुकको म्यासेज भने कनिकुथी पढ्न सक्छिन् उनी । त्यही फेसबुकमा उनको एक ‘बेलायती लाहुरे’ सँग चिनजान भएको थियो । केही महिनाअघि ति लाहुरेले उनलाई ‘उपहार पठाइदिएको छु है’ भन्दै एसएमएस गरे । बेलायतदेखि उपहार आउने भएपछि युवती त्यसै-त्यसै मख्ख परिन् । सामान पठाएको भनिएको केही दिनपछि उनलाई भारतको नम्बरबाट एउटा फोन आयो ।

फोन गर्नेले भने, ‘तपाइँको सामान आइपुगेको छ, भन्सार क्लिएर गर्न ५० हजार रुपैयाँ तिर्नुपर्छ ।’

आफ्नो उपहार छुटाउन ५० हजार खोजखाज गरेर युवतीले फोनबाट भनिएको एकाउन्टमा हालिदिइन् । तर सामान आएन । फेरि उही नम्बरबाट फोन आयो र भनियो कि सामान महंगो देखिएकाले थप ८० हजार पठाउनुपर्‍यो । युवतीले त्यो पैसा पनि जोरजाम गरिन् र खातामा हालिन् ।

तर त्यसपछि पनि सामान नआएपछि उनले थाहा पाइन्, फेसबुकमा भेटिएको व्यक्ति बेलायती लाहुरे नभएर एक ठग थियो । आफु ठगीएको थाहा पाएपछि उनी अपराध महाशाखा पुगिन् । उजुरी गरिसकेपछि उनले भनिन्, ‘अलि-अलि फेसबुक चलाउन आउँथ्यो, त्यसैले यसरी डुबायो । अब परिवारलाई के भन्नु ?’

कटवालको धन्दा पर्दाफास

एसपी श्याम ज्ञवाली अपराध महाशाखामा भर्खरै गएका थिए । ठगी तथा मानव वेचविखन लगायतका घटना हेर्ने जिम्मेवारी लिएर गएको केही दिनपछि फेसबुकबाट ठगिएको गुनासो लिएर एक हुल महिलाहरु महाशाखामा आए । तर घरकाले थाहा पाउने डरले उनीहरु उजुरी नगरी फर्किए ।



महिलाहरुको गुनासोलाई सुरुमा त एसपी ज्ञवालीले सामान्यरुपमा लिएका थिए । तर पिडितहरु आउने क्रम रोकिएन । उस्तै गुनासो लिएर एकपछि अर्का पिडित आउन थालेपछि उनले यसलाई गम्भीररुपमा लिए ।

उजुरी गर्न आएकी एक महिलाले फेसबुकमा चिनजान भएका एक व्यक्तिले आफुलाई बेलायतबाट सामान पठाएको छु भन्दैे ठगी गरेको बताएकी थिइन् । एसपी ज्ञवालीले यहीँबाट अनुसन्धान सुरु गरे । ती महिलाले सामान छुटाउन भनेर आफुले क्रिष्टिना गुरुङको नामको एकाउन्टमा पैसा जम्मा गरेको बताएपछि महाशाखाले तत्कालै उनलाई पक्राउ गर्‍यो ।

त्यस्तै उजुरी गर्न आएका अरुले सपना ढुंगाना नाम गरेकी महिलाको एकाउन्टमा पैसा हालेको बताए । सपना पनि पक्राउ परिन् । तर उनीहरु सबैको नेता रहेछन् वैदेशिक रोजगार व्यवसायी महासंघका पूर्वअध्यक्ष पे्रम कटवाल ।

फेसबुकमा महिलाहरुलाई फसाउने र पैसा असुल गर्ने डिजाइनर कटवाल भएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार पीडितहरुबाट असुल गरेको पैसा विभिन्न एकाउन्टमा जम्मा भएको देखिए पनि अन्तिममा कटवालकै नाममा गएको देखिएको छ । कटवालसँगै उनको सञ्जालमा रहेका ७ जना पक्राउ परिसकेका छन् ।

महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार अहिलेसम्म कटवालको खातामा ८२ लाख रुपैंया जम्मा भएको देखिइसकेको छ ।

‘कसैलाई प्रेमीका बनाउने त कसैलाई सहयोग गर्ने बहानामा ठगेको भेटिएको छ । अरुको एकाउन्टमा पैसा पठाउन लगाएर पछि आफुले लिने कटवालको शैली देखिएको छ,’ एसएसपी अमात्यले भने ।

त्यसो त भारत र अन्य मुलकमा समेत कटवालका एजेन्टहरु हुन सक्ने उनको आशंका छ । एसएसपी अमात्य थप्छन्, ‘भारतको भन्सारका कर्मचारी बनेर भारतबाटै फोन गर्ने, बेलायतबाट सामान पठाएको छु भन्दै उतैको नम्बरबाट फोन गरेको देखिन्छ । यसको सञ्जाल विभिन्न देशमा हुन सक्छ ।’

फेसबुकबाट ठगिनेहरुमा बढी महिलाहरु रहेको प्रहरी तथ्यांकले देखाएको छ ।
source: onlinekhabar.com
फेसबुकबाट ठगीः नक्कली पाइलटको प्रेममा ५० लाख चट्,, ठगीको शिकार हुनेमा बढी महिला फेसबुकबाट ठगीः नक्कली पाइलटको प्रेममा ५० लाख चट्,, ठगीको शिकार हुनेमा बढी महिला Reviewed by Admin on 8:29 AM Rating: 5

No comments:

Gitaanjaly. Powered by Blogger.